Home Blog

पहिलो सलाम किसानलाई : मन्त्री अर्याल

काठमाडौं, १ फागुन ।

कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले किसानको श्रमको मूल्य उठ्नेगरी किसानले उत्पादन गरेको वस्तुको मूल्य निर्धारण गरिनुपर्ने बताउनुभएको छ ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको २७ औं वार्षिकोत्सव समारोहलाई आज(शनिबार) काठमाडौंमा सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो । कृषिकर्मका निम्ती पसिना बगाउने, श्रम गर्ने भनेको किसानले भएको भन्दै मन्त्री अर्यालले किसानदेखी उपभोक्तासम्म आउनका निम्ती बिचमा जे जति तहहरु छन त्यसले किसानलाई मर्कामा परेको बताउनुभयो । ‘किसानले उत्पादन गरेको वस्तुले उचित मूल्य पाउन सकेन । आफूले उत्पादन गरेको वस्तुको मूल्य त किसानको सहभागीतामा हुनुप¥यो नि । कति मेहनत गरेको छ । कति श्रम गरेको । कति लगानी गरेको छ’, मन्त्री अर्यालले भन्नुभयो, ‘अनि अर्काले ठ्याक्कै त्यसको मूल्य यति भयो भनेर भनिदिँदा कहिलेकाँही किसान मर्कामा पनि पर्छ । त्यसैले किसानको उन्नती, प्रगती गर्नका निम्ती किसानको श्रम, लगानी, पसिनाको मूल्य उठ्नेगरी किसानले अलिकति मुनाफा पनि प्राप्त गर्नेगरी मूल्य निर्धारण गर्ने र बजारसम्म लैजाने व्यवस्था गर्नुपर्छ ।’

No description available.


किसानबाट उपभोक्तासम्म कृषि उत्पादन आइपुग्दासम्म मूल्य धेरै चुलिएको अवस्था हुनेगरेको भन्दै मन्त्री अर्यालले यो असन्तुलनको अन्त्य गर्दै किसानलाई न्याय हुने व्यवहार स्थापित गर्नुपर्ने बताउनुभयो । ‘किसानलाई न्यून मूल्य दिने र उपभोक्तासम्म आइपुग्दा उच्च मूल्य हुने भएपछी बीचको धेरै नाफा लिइदिनुभएन’, उहाँले भन्नुभयो, ‘उपभोक्ता पनि मारमा पर्नु भएन र उत्पादन गर्ने किसान पनि मर्कामा पर्नुभएन । किसान, उपभोक्ता र व्यवसायी सबैलाई ठिक हुनेगरी बजार मूल्य निर्धारण हुनुप¥यो ।’
सबैको हित हुने गरी कसैलाई मार्ने वा कसैलाई हित गर्ने कार्य नगर्न उहाँले आग्रह गर्नुभयो ।
मुलुकको समृद्धी कृषि क्षेत्रबाटै बढी गर्न सकिने भन्दै मन्त्री अर्यालले कृषिको सम्भावना, वातावरणीय सम्भावना र नेपाली मानव सभ्यता जस्ता कुराहरु विश्वका धेरै मुलुकहरुले अनुकरण गर्न सक्ने बताउनुभयो । ती सम्भावनाहरुलाई लिएर अगाडी बढेमा मुलुक समृद्ध बन्नबाट कसैले रोक्न नसक्ने समेत उहाँको भनाई थियो । ‘ती सम्भावनालाई अगाडी बढाउदै हामी समृद्ध बन्ने हो । हाम्रो मुलुकलाई समृद्ध बनाउने अबको दिशा यही हो भन्ने कुरामा हामी स्पष्ट छौ । सरकार त्यो ढंगले अगाडी बढेको छ’, उहाँले भन्नुभयो, ‘हामीले १५ औं योजनामार्फत समृद्ध नेपाल सुखी नेपालीको सपना साकार पार्ने योजना अगाडी सारेका छौ । १६ योजना नपुग्दै हाम्रो मुलुकको माथिल्लो स्तरको आर्थिक विकास प्राप्त गर्न सक्छौ भन्ने विश्वास हामीले गरेका छौ ।’
उत्पादन र बजारलाई सँगै लैजानुपर्ने भन्दै उहाँले उत्पादन र बजारलाई सँगै लैजाने भन्ने सरकारको सोचाइलाई साकार पार्न मुलुकभर धेरै बजारहरु विकास गर्दै जानुपर्ने बताउनुभयो । यी काम गर्नका निम्ती सरकार, नीजि क्षेत्र र सहकारी क्षेत्र सँगसँगै जानुपर्ने उहाँको भनाई थियो । मन्त्री अर्यालले भन्नुभयो, ‘विकासको दिशामा सरकार एक्लै होइन सरकारी, गैरसरकारी र नीजि क्षेत्र, सहकारी सबै क्षेत्रबीच साझेदारी गरेर जाने हो भन्ने कुरामा सरकार दुबिधामा छैन ।’
आजको आवश्यकता कृषिको व्यवसायिकता भन्ने कुरा राज्यले भनिसकेको भन्दै उहाँले त्यसलाई कार्यान्वयन गर्नका निम्ती सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम लागू गरेको बताउनुभयो । ‘कृषिमा अब औजारको प्रयोग, यान्त्रिकिकरण गर्दै अब हामी उत्पादन बढाएर आयातलाई न्यूनिकरण गर्ने हो । आयातलाई न्यूनिकरण गर्नका निम्ती हामीले उत्पादन बढाउनुपर्छ’, मन्त्री अर्यालले भन्नुभयो, ‘उत्पादन बृद्धी गरेर कृषि क्षेत्रको व्यवसायिकिकरण, यान्त्रिकिकरण र बजारीकरणलाई सँगसँगै लैजान आवश्यक छ । त्यसमा गुणस्तरियता कायम गर्ने । राज्य त्यै ढंगले अगाडी बढेको छ ।’
बजारलाई सबल बनाउनका निम्ती बजार बिस्तार गर्नुपर्ने आवश्यकता रहेको भन्दै उहाँले त्यसका निम्ती सरकारले संघीय, प्रादेशिक र स्थानीय बजार गरी ३ खालको बजारको परिकल्पना गरेको बताउनुभयो ।
९ वटा ठूला बजार स्थापना गर्नका निम्ती सरकारले प्रकृया अगाडी बढाइसकेको भन्दै उहाँले बजार बिना उत्पादनको अर्थ नहुने भएकाले किसानले उत्पादन गरेको वस्तु उपभोक्तासम्म सहज ढंगले पु¥याउन बजारको व्यवस्था आवश्यक रहेको बताउनुभयो ।
राज्य किसान, व्यवसायी सबैको अभिभावक भएको भन्दै उहाँले किसानको पनि भलाई हुने र व्यवसायिको पनि भलाई हुनेगरी कामलाई अगाडी बढाउनुपर्ने बताउनुभयो ।
कालिमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिले हिजोभन्दा अहिले केही सुधार गरेको देखिएपनि व्यवहारतः अझ धेरै सुधार गर्नुपर्ने आवश्यकता रहेको औल्याउनुभयो । फोहोर र पार्किङको उचित व्यवस्थापन गर्न सुझाव दिँदै उहाँले स्टलसँग जोडिएका केही कुराले बेथिती ल्याएको भन्दै सुशासन कायम गर्ने सन्दर्भमा सहयोग गर्न व्यवसायीहरुलाई आग्रह गर्नुभयो । ‘स्टल तथा टहरा व्यवस्थापन समितिसँग सम्झौता नगरिकन प्रयोग भइरहेका स्टलहरुको पहिचान पनि भएको छ । तपाईहरु सिस्टममा आइदिनुस । तपाईहरु सिस्टममा आएर सुशासनलाई सहयोग गर्नुस’, मन्त्री अर्यालले भन्नुभयो, ‘हामीले निश्चित समय दिएर सिस्टममा आउने अवसर दिन्छौ । त्यस समयमा पनि सिस्टममा आउनुभएन भने अप्रिय निर्णय लिन बाध्य हुनेछौ ।’

व्यापारघाटालाई सन्तुलनमा ल्याउन मन्त्री अर्यालको निर्देशन

काठमाडौं, ११ माघ । नेपाल राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयन गर्न भन्सार विभाग र कृषि तथा पशुपंक्षी विकास मन्त्रालय मातहतको दुई विभाग र एक कार्यालयबीच समझदारी भएको छ । आइतबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा आयोजित एक कार्यक्रममा भन्सार विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग र प्लान्ट क्वारेन्टाइन तथा विषादि व्यवस्थापन केन्द्रबीच नेपाल राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयन गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयन आयोजनाका तर्फबाट भन्सार विभागका महानिर्देशक सुमन दाहाल र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक उपेन्द्र राय, पशु सेवा विभागका निमित्त महानिर्देशक डा.दमयन्ती श्रेष्ठ र प्लान्ट क्वारेन्टाइन तथा विषादि व्यवस्थापन केन्द्रका प्रमुख डा.सहदेव हुमागाईले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

त्यस अवसरमा बोल्दै कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले एकद्वार प्रणालीको लागू गर्ने कार्य अन्तराष्ट्रिय व्यापार सम्बन्धमा समान धरातल निर्माण तर्फको एउटा खुड्किलो भएको बताउनुभयो । व्यापारघाटालाई समेत सन्तुलनमा ल्याउन सहजीकरणको भूमिका निर्वाह गर्न मन्त्री अर्यालले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘यसले भन्सारबाट जाँचपास कार्य सहजरुपमा सम्पन्न गर्न सकिनेछ । अन्तराष्ट्रिय व्यापार सम्बन्धमा समान धरातल निर्माण तर्फको महत्वपूर्ण खुड्किलोका रुपमा हामीले यसलाई दिएका छौ ।’
मन्त्री अर्यालले कार्यान्वयनको चरणमा रहेको कागजरहित अन्तर्राष्ट्रिय व्यापार सेवा प्रदान गर्ने प्रणालीले व्यापार सहजीकरणका लागि कोशेढुंगा हुने समेत बताउनुभयो । समयानुसार प्रविधिको प्रयोग गरेर कागजरहित सेवा प्रदान गर्दा व्यापार बढ्ने उहाँको भनाइ थियो । ‘हरेक क्षेत्रका बेथितिको अन्त्य प्रविधिबाट नै गर्ने हो । आयात र निर्यातसँग जोडिएका बेथितीको अन्त्य गर्न यसले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ’, मन्त्री अर्यालले भन्नुभयो, ‘आर्थिक उदारीकरण र खुला बजारमा हामी गइसकेको अवस्थामा हामीले हाम्रा प्रतिस्पर्धी क्षमतालाई हरेक ढंगले विकास गर्न जरुरी छ ।’
यसैगरी त्यस अवसरमा बोल्दै कृषि मन्त्रालयका सचिव डा. योगेन्द्रकुमार कार्कीले कृषि क्षेत्रसँग सम्बन्धित अन्र्तराष्ट्रिय व्यापारमा अब सहजता आउने बताउनुभयो । एकद्वार प्रणालीमार्फत सेवाग्राहीले सरल ढंगबाट सेवा पाउने बताउदै उहाँले प्रविधिको उच्चतम प्रयोग अहिलेको आवश्यकता भएको बताउनुभयो । यस्तै एकद्वार प्रणाली कार्यान्वयन आयोजनाको तर्फबाट कार्यक्रममा बोल्दै भन्सार विभागका महानिर्देशक सुमन दाहालले अन्तर्राष्ट्रिय व्यापार सहजीकरणको नयाँ युग सुरु हुनै लागेको बताउनुभयो । केही समयमै कार्यान्वयनमा आउने एकद्वार प्रणालीले एकआपसमा सम्बन्ध बिस्तार मात्र नभएर कामकारबाहीमा ठूलोृ परिवर्तन हुने बताउनुभयो ।

किसानहरुको वर्गीकरण गरी कृषि कार्यक्रमलाई व्यवस्थित गर्छौ ः कृषिमन्त्री अर्याल

काठमाडौं, ५ माघ । कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले किसानहरुको वर्गीकरण गरेर कृषि कार्यक्रमलाई वितरण गरिने बताउनुभएको छ । अखिल नेपाल महिला संघ (अनेमसंघ) केन्द्रीय समितिका पदाधिकारी तथा जनप्रतिनिधि महिलाहरुसँग आयोजीत कार्यक्रममा बोल्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो ।
पहिलो चरणमा किसानहरुको वर्गीकरण गरी किसान परिचयपत्र वितरण गरिने मन्त्री अर्यालको भनाई थियो । मन्त्री अर्यालले भन्नुभयो, ‘किसानहरुको वर्गीकरण गरी परिचयपत्र वितरणको काम सम्पन्न गर्छौ । वर्गीकरणका आधारमा कृषि कार्यक्रमलाई व्यवस्थित ढंगले अगाडी बढाउछौ । आगामी फागुनदेखी यो कार्यक्रम द्रुतरुपले अगाडी बढ्छ ।’
किसानहरुको हकहितका निम्ती स्थापना गरिएको किसान आयोगलाई शक्तिशाली बनाइने बताउदै उहाँले किसानहरुको हकहितका निम्ती गठन भएको आयोग अहिलेको अवस्थाले मात्र उसको उद्देश्य पुरा गर्न नसक्ने बताउनुभयो ।

कृषि मन्त्रालयमार्फत वितरण गरिदै आएको अनुदानका कार्यक्रमहरु परिमार्जन गरिने बताउदै उहाँले कतिपय अनुदानलाई बन्द नै गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । ‘अनुदानका कार्यक्रमहरु जतिपनि सञ्चालन भएका छन् तीमध्ये कतिपयलाई परिमार्जत गर्नुपर्नेछ । कतिपय कार्यक्रम बन्द नै गर्नुपर्ने अवस्था छ’, उहाँले भन्नुभयो, ‘अहिले जसरी अनुदान कार्यक्रमहरु सञ्चालन भएका छन् त्यो कतिपय कार्यक्रमले उचित प्रतिफल दिन सकेनन् ।’
किसानहरुलाई मलको अभाव हुन नदिन मन्त्रालयले काम अगाडी बढाइसकेको भन्दै उहाँले अब किसानहरुलाई मलको अभाव हुन नदिने बताउनुभयो । देशभरका स्थानीय तहलाई आफ्नो स्थानीय तहमा वर्षभरी चाहिने मलको माग पठाउन माघ अन्तिमसम्मको समय दिइएको भन्दै उहाँले अबका दिनमा मल अभाव नहुनेगरी मन्त्रालय अगाडी बढेको बताउनुभयो । ‘माघको अन्तिमसम्ममा आफ्नो स्थानीय तहमा कति मल चाहिन्छ भनेर माग पठाउन सबै स्थानीय तहलाई आग्रह गरिएको छ’, मन्त्री अर्यालले भन्नुभयो, ‘अब किसानहरुलाई मलको अभाव नहुनेगरी मन्त्रालय अगाडी बढेको छ । हामी किसानहरुलाई आवश्यक पर्ने मल समयमै आपुर्ती गर्छौ । मन्त्रालयले कामको थालनी गरिसकेको छ ।’

कृषि क्षेत्रको सम्भावनालाई मध्यनजर गर्दै कृषिको व्यवसायिकरण, बजारीकरण र यान्त्रिकिकरण गरिने बताउदै उहाँले प्रविधिको प्रयोगबाट कृषिमा कसरी प्रगती गर्न सकिन्छ भनेर मन्त्रालय अगाडी बढेको बताउनुभयो । त्यसका निम्ती अब ठूला स्केलका उत्पादनमा जानुपर्ने समेत बताउनुभयो ।
त्यस अवसरमा बोल्दै उद्योग वाणिज्य तथा आपूर्ती राज्यमन्त्री विमला विकले सरकार मुलुकलाई मन्त्रालयमार्फत महिलाका निम्ती सञ्चालन गरिने कार्यक्रमहरुमा सहजिकरण गरिने बताउनुभएको थियो ।
तस्विरहरु ः देविका घर्ती मगर

जनताको अदालतमा जाने निर्णय लोकतान्त्रिक विधि : मन्त्री अर्याल

कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले जनताको अदालतमा जाने निर्णय लोकतान्त्रिक विधि भएको बताएकी छन् । मन्त्री अर्यालले भनिन्, “पाँच वर्षका लागि जनमत प्राप्त सरकारलाई आफ्नै पार्टीका नेताहरुले चारैतिरबाट घेराबन्दी गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामाझ जाने निर्णय लिनुभो ।” 

गृहजिल्ला स्याङ्जामा राष्ट्रिय युवा सङ्घले आज आयोजना गरेको बृहत् युवा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री अर्यालले सो कुरा  बताइन् । उनले जनतामाझ जाने उक्त निर्णय लोकतान्त्रिक निर्णय भएको समेत बताइन् । “पार्टी एकता भएपछि विचारको बहस, छलफल शून्य भयो । पद, सेवासुविधाको छलफल चल्न थाल्यो । विचारबाट निर्देशित भएको पार्टी पद, पावरमा गएर अल्झिएपछि अहिलेको यो अवस्थामा आउनपुग्यो”, उनले भनिन् ।

सरकारले राष्ट्रिय एकता कायम गर्दै विगतमा विभिन्न कारणले गुमेको नेपालको जमीन फिर्ता लिने कार्य अगाडि बढाएपछि आफ्नै पार्टी नेतृृत्वको सरकार असफल बनाउन पार्टीबाट योजना बनेको समेत मन्त्री अर्यालले बताइन् । 

नेपालले पहिलोपटक आफ्नै लगानी, स्रोतसाधन र जनशक्तिमा सगरमाथाको उचाइ मापन गरे पनि त्यसलाई आफ्नै देशमा गलतरुपमा व्याख्या गर्ने गरिएको समेत उनले बताइन् ।

केपी ओलीले नेतृत्व गरेको पार्टी नै आधिकारिक : कृषिमन्त्री अर्याल

स्याङ्जा, २९ पुस । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेपकाले वैधानिकता पाउने दाबी गर्नुभएको छ । बुधबार नेकपा अर्जुनचौपारी गाउँपालिका कमिटी र भीरकोट नगर कमिटीले आयोजना गरेको बृहत् कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो ।

पार्टी दुई समूहमा विभाजन भएर छुट्टाछुट्टै भेला, प्रशिक्षण तथा बैठकहरु आयोजना गर्दै आएपछी प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपाले आधिकारिता पाउछ की पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेतृत्व गरेको नेकपाले आधिकारिता पाउछ भन्ने चर्चा चलिरहेको सन्दर्भमा मन्त्री अर्यालले पार्टी अध्यक्ष र महासचिवले नेतृत्व गरेको पार्टीले नै आधिरिकता पाउने दाबी गर्नुभयो । ‘संस्थापन कुन पार्टी हुन्छ । सूर्य चिन्ह कुन पार्टीले पाउछ त्यतै लाग्ने हो भन्ने चर्चा पनि सुन्ने गरिएको छ । मुख्य पार्टीको मान्यता कसले पाउने वा सूर्य चिन्ह कसले पाउछ भन्ने कुरा छलफल गर्नुपर्छ जस्तो नै लाग्दैन’, नेकपा केन्द्रीय सदस्य तथा नेकपा स्याङ्जाको इञ्चार्ज समेत रहनुभएको मन्त्री अर्यालले भन्नुभयो, ‘गाउँघरको सोझो हिसाबले हेर्नुस् त । यो कम्युनिष्ट पार्टीको एक नम्बरको पार्टी अध्यक्ष केपी ओली हो । यो पार्टीको महासचिव विष्णु पौडेल हो । त्यसकारण जुन पार्टीमा अध्यक्ष र महासचिव छ त्यही पार्टीले मान्यता पाउछ ।’ पार्टीका २÷४ जना नेताहरु चोइटिएर छुट्टै पार्टी बनाउन खोजेको भन्दै उहाँले प्रचण्ड–नेपालले पार्टीलाई विभाजीत गर्ने जमर्को गरेको बताउनुभयो ।

तर अहिलेसम्म कानुनी मान्यता नपाएको भन्दै त्यस कार्यको निर्णय निर्वाचन आयोगलाई नै छाड्नुपर्ने बताउनुभयो । केपी ओली महाधिवेशनबाट चुनिएर आएको अध्यक्ष भएको भन्दै उहाँले अहिले पनि ओली नै १ नम्बरको अध्यक्ष भएको बताउनुभयो । पार्टी एकता गर्दा दुईवटा आन्दोलनलाई जोड्नका निम्ती प्रचण्डलाई २ नम्बर पार्टीको अध्यक्ष बनाएर अगाडी बढेको स्मरण गर्दै उहाँले प्रचण्डले पार्टी प्यालेशमा भेला गरेर माधवकुमार नेपाललाई अर्को अध्यक्ष चुनेको बताउनुभयो । ‘२ नम्बरको अध्यक्षले पार्टी प्यालेशमा बसेर भेला गरेर माधव नेपाललाई अध्यक्ष बनाएर यो दर्ता गरिदेउ भनेर निर्वाचन आयोगमा जानुभयो’, नेता अर्यालले भन्नुभयो, ‘हामी फुटेको होइन । हामी जहाँ हो त्यही छौ केपी ओलीको नेतृत्वमै छौ । यो कुरा कार्यकर्ता, सबैले बुझ्नुभएको छ ।’ जनताको समाजवादमा पुग्ने चाहनालाई पुरा गर्नका निम्ती दुई पार्टीलाई एकता गरेर अगाडी बढेको भएपनि नेतृत्व फरक रुपमा प्रस्तुत हुदा अहिलेको अवस्था आएको बताउनुभयो ।

तरपनि खोल्सिएको घाउलाई मल्हमपत्ति गर्दै झनै रफ्तारका साथ पार्टी निर्माण अभियानमा अगाडी बढ्दै मुलुकको सबैभन्दा ठूलो पार्टी बनाएर छाड्ने बताउनुभयो । जनताका बीचमा खाएको कसम पुरा गर्न, जनताका सपनाहरुको मलामी जाँन नदिने भन्दै मन्त्री अर्यालले अहिलेको असाधारण परिस्थितीसँग दृढतापूर्वक जुध्दै नेकपालाई अझ शसक्त बनाउदै फेरि आउने निर्वाचनमा कम्युनिष्ट पार्टीकै बहुमतको सरकार बनाएर जनताको सपनालाई साकार पार्ने बताउनुभयो । निर्वाचन जितेर सबैभन्दा ठूलो पार्टी बनेकै दिनदेखी यो सरकार, आन्दोलन र केपी ओलीको नेतृत्वलाई कमजोर पार्ने तत्वहरु सक्रिय रहेकाले अहिलेको स्थिती सिर्जना भएको भन्दै उहाँले तर त्यसलाई परास्त गरेर छाड्ने बताउनुभयो ।

‘हामीले जित्यौ भनेर रमायौं खुसी मनायौं । तर हामीले जून दिन जित्यौं त्यही दिनदेखी निद्रा हराम गरेर यो आन्दोलन र सरकारलाई कमजोर बनाउन न्वारानदेखिको बल प्रयोग गरेर लागेका थिए । जुन कुरा आज साबित पनि भएको छ’, उहाँले भन्नुभयो, ‘पूर्वीयाहरु, पश्चिमाहरु कसरी लागे, देशभित्र र बाहिर कसरी लागे त्यो कुराको आकलन राम्रोसँग गर्न सकिएन । हिजोदेखीनै यो सरकारलाई चल्न नदिन, जनताको पक्षमा काम गर्न नदिने, समृद्धिको यात्रालाई ठिक ढंगले अगाडी बढ्न नदिने र केपी ओलीको नेतृत्वलाई खासाल्ने यो हिजैदेखीको योजना थियो ।’ सरकारमाथी आक्रमण गर्ने र नसकेमा पार्टीमाथी आक्रमण गरी पार्टी विभाजनसम्म गराउने वा नेताहरुबीच मेलमिलाप हुन नदिने योजना सफल भएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारमाथी आक्रमण गर्ने । पार्टीभित्र आक्रमण गर्ने । सक्दा पार्टी फूटाउने नसक्दाखेरी नेता मिल्न नदिने खेल जुन दिनदेखी यो पार्टीले एकल रुपमा सरकार निर्माण गरेको थियो । त्यही दिनदेखी भएको थियो ।’ त्यस अवसरमा भीरकोटमा १५ जना युवाहरु तरुण दल परित्याग गरी नेकपामा प्रवेश गरेका थिए भने, अर्जुनचौपारीमा नेपाली काँग्रेस परित्याग गरी ६ जना नेकपामा प्रवेश गरेका थिए ।

चारैतिरबाट घेराबन्दी गरेपछी जनतामाझ जाने लोकतान्त्रिक निर्णय : मन्त्री अर्याल

स्याङ्जा, २७ पुस । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले ५ वर्षका लागि जनमत प्राप्त सरकारलाई आफ्नै पार्टीका नेताहरुले चारैतिरबाट घेराबन्दी गरेपछी प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले जनतामाझ जाने निर्णय गरेको बताउनुभएको छ ।

गृहजिल्ला स्याङ्जाका विभिन्न स्थानहरुमा आयोजना गरिएको नेकपाको सभालाई सम्बोधन गर्नेक्रममा मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो । पाँच वर्षका लागि जनताले चुनेर पठाएको आफ्नै पार्टीअध्यक्ष ओलीले नेतृत्व गरेको सरकारलाई पार्टीभित्रैका पदलोलुप नेताहरुले अनेकन बहानामा घेराबन्दी गरेका कारण प्रतिनिधिसभा विघटनको निर्णय गर्नुपरेको बताउनुभयो । उहाँले जनतामाझ जाने उक्त निर्णय लोकतान्त्रिक निर्णय भएको समेत बताउनुभयो ।

‘पार्टी एकता भएपछी विचारको बहस, छलफल शून्य भयो । पद, सेवासुविधाको छलफल चल्न थाल्यो । विचारबाट निर्देशित भएको पार्टी पद, पावरमागएर अल्झियो’, मन्त्री अर्यालले भन्नुभयो, ‘पद लोलुपहरुले चारैतिरबाट घेराबन्दी गरेर बस्नखानै नदिएपछी सम्माननीय प्रधानमन्त्री ज्यूले जनताको अदालतमा जाने निर्णय गर्नुप¥यो । जनताको अदालतमा जाने उक्त निर्णय लोकतान्त्रिक विधि हो ।’ आम जनताले आशा भरोसा र विश्वास गरेको सबैभन्दा ठूलो पार्टी नेकपाभित्रैका ठूला नेताहरुले राष्ट्रपतीलाई महाअधियोग लगाउनेसम्मको तयारी गरी हस्ताक्षर गरेका कारण प्रतिनिधिसभाको विघटन गर्नुपर्ने स्थितीको सिर्जना भएको समेत नेकपाका केन्द्रीय सदस्य तथा स्याङ्जा जिल्ला इञ्चार्ज समेत रहनुभएकी मन्त्री अर्यालले बताउनुभयो ।

‘राष्ट्रपतीलाई महाअभियोग लगाउनेगरी सांसदहरुको हस्ताक्षर संकलन गरियो । यस्तो बिचित्रको दृश्य आफ्नै पार्टीभित्र देख्नुप¥यो । त्यसैले बाध्य भएर प्रधानमन्त्री ज्यूले यस्तो कदम चाल्नुभएको हो’, मन्त्री अर्यालले भन्नुभयो, ‘चारैतिर घेरेर ढोका थुनेर सास थुन्न थालेपछी मुसा पनि बाहिर आउन खोज्छ । जनताले ५ वर्षका निम्ती जनताले मत दिएका थिए । तर प्रधानमन्त्री ज्यूलाई बस्नखानै नदिएपछी । सरकारलाई काम गर्नै नदिएपछी यस्तो कदम चाल्नुप¥यो ।’ सरकारले राष्ट्रिय एकता कायम गर्दै विगतमा विभिन्न कारणले गुमेको नेपालको जमिन फिर्ता लिने कार्य अगाडी बढाएपछी आफ्नै पार्टी नेतृृत्वको सरकार असफल बनाउन आफ्नै पार्टीबाट योजना बनेको समेत मन्त्री अर्यालले बताउनुभयो ।

विश्व जनसमुदायमै चर्चाको विषय बन्नेगरी नेपालले पहिलोपटक आफ्नै लगानी, स्रोतसाधन र जनशक्तिमा सगरमाथाको उचाई मापन गरेपनी त्यसलाई आफ्नै देशमा गलत रुपमा ब्याख्या गर्ने गरिएको समेत उहाँले बताउनुभयो । यसैबीच मन्त्री अर्यालले सत्तारुढ दल नेकपा विभाजनका सन्दर्भमा अध्यक्ष र महासचिव भएको पार्टी नै आधिकारिक नेकपा भएको बताउनुभएको छ । मन्त्री अर्याले सत्तारुढ नेकपा विभाजन भएर दुईवटा समूह बनेनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव भएको पार्टी नै आधिकारिक नेकपा भएको बताउनुभयो ।

मन्त्री अर्यालले भन्नुभयो, ‘पार्टीको एक नम्बरका अध्यक्ष र महासचिव भएको पार्टी आधिकारिक नभएर बबरमहलको कार्की ब्याङ्केटमा भेला गरेर पार्टी आधिकारिक हुन्छ त ! तथ्य, प्रमाण र घटनाक्रमले आधिकारिक पार्टीको टुङगो लागिसकेको छ ।’ मन्त्री अर्यालले नेकपा ओली समुहको राष्ट्रिय युवा संघ स्याङ्जाको बृहत युवा प्रशिक्षण कार्यक्रम, वालिङमा आयोजीत नगर अगुवा कार्यकर्ता भेला, गल्याङ नगर कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेला, नेकपा फेदीखोला नगर कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेला, भुमि सम्बन्धी समस्या समाधान आयोगद्धारा आयोजीत स्थानीय तह अभिमुखीकरण कार्यक्रम लगायतका कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो । त्यस अवसरमा ३ दर्जन बढी युवाहरू नेकपा प्रवेश गरेका थिए ।