मन्त्री पद्माकुमारी अर्यालको संक्षिप्त जीवनी

padma_aryal
padma_aryal

नेपाल सरकारको भूमि व्यवस्था सहकारी एवं गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालको जन्म वि.सं. २०२५ साल पुष १८ गते स्याङ्जा जिल्लाको थुमपोखरा–तमादीमा भएको हो । माता तारादेवी अर्याल र पिता गुप्तप्रसाद अर्यालको कोखबाट जन्मनुभएकी अर्यालले स्याङ्जा जिल्लाको जनसेवा निमाविबाट आफ्नो औपचारिक अध्ययनको प्रारम्भ गर्नुभएको थियो । स्याङ्जा जिल्लाकै पूनर्मित माविबाट एसएलसी उत्तीर्ण गरेपछि उहाँले भक्तपुर बहुमूखी क्याम्पसबाट स्नातकसम्मको औपचारिक शिक्षा हासिल गर्नुभएको छ ।
अर्याल विद्यार्थी जीवनदेखि नै सक्रिय राजनीतिमा होमिनुभयो । वि.सं. २०३९ सालमा स्कूले जीवनमा नै उहाँ तात्कालीन भूमिगत माले र अनेरास्ववियुको कार्यकर्ताका रुपमा पञ्चायती व्यवस्थाको अन्त्य र बहुदलीय प्रजातन्त्रको स्थापनार्थ सञ्चालित आन्दोलनमा सहभागी हुनुभयो । वि.सं. २०४५ सालसम्मको अवधिमा अर्यालले अनेरास्ववियुको प्रारम्भिक कमिटी, जिल्ला कमिटी, अञ्चल कमिटी लगायतका जिम्मेवारीमा रहेर शैक्षिक मुद्दाहरुको पैरवी र विद्यार्थी आन्दोलनको नेतृत्व गर्नुभयो ।
अर्याल तात्कालीन मालेको युवा लीगको इलाका, क्षेत्र हुँदै वि.सं. २०४५ सालमा तात्कालीन माक्र्सवादी–लेनिनवादी (माले) को पेशेवर कार्यकर्ताका रुपमा पूर्णकालीन राजनीति प्रारम्भ गर्नुभएको थियो । राजनीतिक आन्दोलनमा क्रियाशील भएको झण्डै आठ वर्षपछि उहाँले वि.सं. २०४७ असोजमा कम्युनिष्ट पार्टीको सदस्यता लिनुभयो । वि.सं. २०४६ देखि २०५९ सम्म अर्याल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जिल्ला कमिटी र विभिन्न सामाजिक संस्थाहरुका रही राजनीतिक र सामाजिक आन्दोलनको नेतृत्व गर्नुभयो ।
अर्याल वि.सं. २०५९ सालमा नेकपा (एमाले) को अञ्चल कमिटीमा आवद्ध हुनुभयो । वि.सं. २०६४ साल चैत्र २८ गते सम्पन्न संविधान सभाको पहिलो निर्वाचनमा अर्याल नेकपा (एमाले) को तर्फबाट सामानुपातिक सभासदमा निर्वाचित हुनुभयो । त्यस अवधिमा संविधान सभामा रहेर उहाँले संविधान सभाको प्राकृतिक स्रोत तथा राजश्व बाँडफाँड समिति र व्यवस्थापिका–संसदको विकास समितिमा रहेर संविधान निर्माण र समग्र देश एवं स्याङ्जा जिल्लाको विकासमा समेत महत्वपूर्ण काम गर्नुभएको थियो ।
अर्याल वि.सं. २०६७ सालमा तात्कालीन नेकपा (एमाले) को राष्ट्रिय प्रतिनिधि परिषद सदस्यमा निर्वाचित हुनुभयो । वि.सं. २०६९ सालमा सम्पन्न जिल्ला अधिवेशनबाट उहाँ नेकपा (एमाले) को जिल्ला कमिटी अध्यक्षमा निर्वाचित हुनुभयो । वि.सं. २०७१ सालमा सम्पन्न नेकपा (एमाले) को नवौं राष्ट्रिय महाधिवेशनबाट अर्याल पार्टीको केन्द्रीय समिति सदस्यमा निर्वाचित हुनुभयो, त्यसपछि उहाँले पार्टीको स्याङ्जा जिल्ला ईञ्चार्जको भूमिकामा रहेर काम गर्नुभयो ।
उत्पीडित जाति, लिङ्ग र समुदायको हकहितका पक्षमा निरन्तर उभिने अर्यालले राजनीतिक र लैङ्गिक जागरणका क्षेत्रमा आफूलाई निरन्तर समर्पित गर्नुभयो । उहाँसँग अखिल नेपाल महिला सङ्घको गाउँ कमिटी, इलाका कमिटी, जिल्ला कमिटी अध्यक्ष, अञ्चल कमिटी ईञ्चार्ज हुँदै केन्द्रीय कमिटीको सचिवको अनुभवसमेत छ । त्यसका साथै अर्यालले जिल्लाका विभिन्न सामाजिक संघसंस्थामा रहेर सामाजिक जागरण, उत्प्रेरणा र पूर्वाधार विकासमा महत्वपूर्ण योगदान गर्नुभयो ।
अर्याल राजनीतिक आन्दोलनका क्रममा पटकपटक हिरासत र जेल पर्नुभयो । पञ्चायतविरोधी आन्दोलनमा सक्रिय रहेकै बेला स्कूले जीवनमा उहाँलाई वारेण्ट जारी गरियो, वि.सं. २०४५ को नाकाबन्दीकै अवधिमा उहाँलाई पक्राउ पूर्जी जारी गरियो । २०४६ सालको जनआन्दोलनका क्रममा फागुनमा उहाँ गिरफ्तारीमा पर्नुभयो, अर्याललाई पोखराको हिरासतमा राखियो । वि.सं. २०४६ साल चैत्र २६ गते जनआन्दोलन सफल भएपछि अर्याल रिहा हुनुभयो । २०६२÷०६३ को निरङ्कुश राजतन्त्रविरोधी आन्दोलनमा अर्यालको सक्रिय नेतृत्व रह्यो । उहाँ फेरि गिरफ्तारीमा पर्नुभयो । त्यस अवधिमा उहाँ स्याङ्जा र काठमाडौंमा गरी करीब १ महिना हिरासतमा बस्नुभयो ।
वि.सं. २०७४ मंसीर २१ गते सम्पन्न सङ्घीय निर्वाचनमा अर्यालले स्याङ्जा क्षेत्र नं.–२ बाट ३५,१४२ मत प्राप्त गरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभयो । त्यसपछि अर्याल वि.सं. २०७४ चैत्र २ गते नेपाल सरकारको स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीको जिम्मेवारीमा नियुक्त हुनुभयो । वि.सं. २०७५ भदौ १८ गतेदेखि उहाँ नेपाल सरकारको भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रीको जिम्मेवारीमा हुनुहुन्छ ।
मन्त्री अर्यालको गतिशीलता, दृढ आत्मविश्वासका कारण राजनीतिक र सामाजिक जीवनको अग्रगामी रुपान्तरण, न्याय, समानता र स्वतन्त्रताका पक्षमा निरन्तर जनपक्षीय राजनीतिमा सक्रिय हुनुहुन्छ । उहाँले बङ्गलादेश, भारत, दक्षिण अफ्रिका, चीन, स्वीजरल्याण्ड, जर्मनी, फ्रान्स लगायतका देशहरुको भ्रमण गर्नुभएको छ । मन्त्री अर्यालको परिवारमा बुवा–आमा, श्रीमान, १ छोरा र १ छोरी हुनुहुन्छ ।