सगरमाथा आधारशिविर — अधिकांश आरोहीको समान भनाइ छ, ‘उचाइ नशा हो ।’ जति उचाइमा पुगिन्छ, उति त्योभन्दा माथि पुग्न मन लाग्छ । उनीहरू भन्छन्, उचाइबाट लिने एउटै मज्जा हो– आफू सबैभन्दा अग्लो भएको महसुस गर्नु र सबै दृश्यलाई तलतिर पारेर हेर्नु । 

सगरमाथाको उचाइ मापन गर्ने टोलीलाई शुक्रबार काठमाडौंमा स्वागत गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याल । तस्बिर : इलिट जोशी/कान्तिपुर

‘मलाई चाहिँ गज्जब त्यतिबेला लाग्यो, जतिबेला चट्याङसमेत मभन्दा निकै मुनितिर झल्याकझुलुक गरेर चम्किरहेको थियो,’ पहिलोपटक सगरमाथा आरोहण जाँदाको क्षण सम्झँदै खिमलाल गौतमले भने, ‘बादल पनि मभन्दा तल रहेछ भन्ने थाहा पाउँदा गर्वानुभूति भयो ।’
उनले यसपटक फेरि सगरमाथा सर्वेक्षणका लागि नापी विभागको नेतृत्व गरेर शिखर चुमेका छन् ।सगरमाथामा पुग्नु अधिकांश आरोहीको सपना हो । ‘प्राविधिक रूपले सगरमाथाभन्दा अप्ठ्यारा हिमाल नेपालमै धेरै छन्,’ नेपाल माउन्टेन एकेडेमीका प्रशिक्षक तथा क्लाइम्बिङ गाइड छिरिङजाङबु शेर्पाले भने, ‘सर्वोच्च शिखर भएकाले एकपटक यसको शिरमा पुग्ने रहर जाग्नु स्वाभाविक हो ।’ उनले उमेर र बल हुँदा दुईपटक बिनाअक्सिजन शिखरमा पाइला टेकेको सम्झिए ।
हिमालमा ज्यान गुमाउनेमध्ये धेरैजना यही नशामा चुर्लुम्म डुबेका हुन्छन् । अंग्रेजीमा ‘समिट फिभर’ नाम राखिएको छ । शिखरमा पुग्नेबाहेक उनीहरू अरू केही सोच्दैनन् । त्यसैले भएभरको शक्ति खपत गरेर शिखरमा पुगे पनि सहज रूपले ओर्लिन सक्दैनन् । र, ज्यान गुमाउँछन् ।
एकपटक आरोहण गरेर फर्किने अधिकांशलाई दोहोर्‍याउन मन लाग्छ । सगरमाथा आरोही संघकी अध्यक्ष माया शेर्पाको अनुभव छ, ‘चढदा गाह्रो भो भने बेकारमा आएजस्तो लाग्छ । शिखर चुमेर फर्केपछि फेरि त्यही चुचुरोमा पुग्ने हतारो हुन्छ ।’
सन् २०१४ मा हिमपहिरोमा परी सगरमाथामा १६ शेर्पाले ज्यान गुमाए । २०१५ को भूकम्पमा २२ जनाको ज्यान गयो । त्यसयता मर्नेको संख्या २० नाघिसकेको छ । आरोहण गर्नेको संख्या पनि उत्तिकै बढिरहेको छ । यही सिजनमा मात्रै ३ सय हाराहारीले सगरमाथा शिखरमा टेकिसकेका छन् । सहयोगी शेर्पासहित गणना गर्ने हो भने त्यसको संख्या ६ सयभन्दा माथि छ ।
मेलोरीदेखि कामीरितासम्मन्युजिल्यान्डका एडमन्ड हिलारी र तेन्जिङ शेर्पाले सगरमाथा चढ्नुअघि धेरैले आरोहण प्रयास गरे । हिलारी र तेन्जिङभन्दा ३३ वर्षपहिले सन् १९२० मा जर्ज मेलोरी नाम गरेका बेलायती आरोहीले आरोहण प्रयास गरेका थिए । उनी आरोहणकै क्रममा बेपत्ता भए । कतिपयले मेलोरी र उनका साथी एन्ड्रिउलगायतले आरोहण गरे पनि फर्किन नसकेको अनुमान गरेका छन् ।
हिलारी र तेन्जिङले सन् १९५३ मे २९ मा पहिलोपटक सफल आरोहण गरेर फर्किसकेपछि यसको व्यावसायिक आरोहण सुरु भएको मानिन्छ । सगरमाथा आरोहण सुरु भएपछि अनगिन्ती कीर्तिमान राखिएका छन् । जुन अस्वाभाविक मानिन्छ ।
‘हिउँ पग्लिएर कालो पहाड भएको देख्दा र बेलाबेलामा मान्छेहरू धेरै मरेको देख्दा मान्छे चढेर नचाहिने काम गरेकाले देवीलाई जुठो परेर यस्तो भएको जस्तो लाग्छ,’ ३९ वर्षदेखि सगरमाथामा काम गरेका आङकामी शेर्पाले भने, ‘जसले जे पायो त्यही गर्दिन्छन् । सगरमाथा सबैलाई सजिलो जस्तो भयो ।’
सगरमाथा आरोहणकै नशाका कारण बाबुछिरी शेर्पा, आङरिता शेर्पा, पासाङल्हामु शेर्पा, आप्पा शेर्पा हुँदै कामिरिता शेर्पासम्मको कीर्तिमानी कायम भएको छ । शेर्पा समुदायमा शिक्षा कम भएका कारण भारी बोक्ने बाध्यतासँगै उनीहरूमा सगरमाथा चुम्ने नशा चढ्छ ।
कामीरिता आफैंले आरोहण सुरु गर्दा कीर्तिमान कायम राख्छु भन्ने सोचेका थिएनन् । पेसाको हिसाबले चढ्दै जाँदा कीर्तिमानी भयो । अन्त्यमा आएर कीर्तिमानी कायम गर्ने चुनौतीले उनले अर्को साल पनि आरोहण गरेर २५ पटक चढ्ने बताएका छन् । तर प्रत्येक पटकको आरोहण उत्तिकै चुनौतीपूर्ण हो भन्ने उनलाई राम्रोसँग थाहा छ ।
यस वर्षका चर्चितयस वर्षको आरोहणका सबैभन्दा चर्चित पात्र कामीरिता शेर्पा भए । उनले एकै सातामा दुईपटक सगरमाथा शिखर चुमेर आफ्नै विश्व कीर्तिमान तोडदै २४ पटक सगरमाथा आरोहण गरे । ‘मलाई विश्वका समुदायलाई यो साहसिक कीर्तिमानी सुनाउन पाउँदा, शेर्पा समुदाय र नेपाली हुन पाएकोमा गर्व लागेको छ,’ उनले भने, ‘कर्मको साथसाथै कीर्तिमान प्राप्त भयो । खुसी छु ।’ उनले सन् १९९४ मा पहिलोपटक सगरमाथा आरोहण गरेका थिए ।
सगरमाथा मापन गर्ने टोली पनि चर्चामा रह्यो । सरकारले अन्तर्राष्ट्रिय वैज्ञानिकद्वारा मान्यताप्राप्त प्रविधिमार्फत पहिलोपटक सगरमाथाको उचाइ नाप्न लागेका कारण उनीहरूको आरोहण चर्चामा रह्यो । खिमलाल गौतम त्यसको टिमलिडर हुन् ।
खिमलालसँगै नापी अधिकृत रविन कार्कीले पहिलोपटक सगरमाथा आरोहण गरे । खिमलालले यसअघि निजामती कर्मचारीको टोलीबाट आरोहण गरेका थिए । हिमालमै श्रीमान गुमाएका खुम्बुपासाङल्हामु गाउँपालिका ४, खुम्जुङकी दुई विधवा महिला निमाडोमा र फुर्दिकी शेर्पालाई पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पछ्याइरहे ।
उनीहरूले ‘हामी पनि गर्न सक्छौं’ भन्ने मूल नारा लिएर सगरमाथा आरोहण गरे । हिमालले खोसेको खुसी फिर्ता गर्न गएको उनीहरूको सन्देशले विश्व समुदायलाई भावुक बनायो । फुर्दिकीका श्रीमान मिङमार ६ वर्षअघि सगरमाथामै बाटो बनाउने क्रममा लडेर बितेका थिए । निमाडोमाका श्रीमान् छिरिङवाङछुले पनि पाँच वर्षअघि सगरमाथाकै हिमपहिरोमा ज्यान गुमाएका थिए ।
आरोहीसँगै समस्याअनुमति लिने आरोहीको संख्या वर्षेनी बढदो छ । सन् २०१० मा २ सय ३७ ले सगरमाथा आरोहणको अनुमति लिएका थिए भने सन् २०१९ को वसन्त ऋतुमा ३ सय ७९ ले अनुमति लिए ।
त्यसबीचका वर्षमा सामान्य घटबढ भए पनि औसतमा आरोहीको संख्या बढिरहेको छ । अनुमति लिने आरोहीको साथमा १ देखि दुईजना सहयोगी शेर्पाको गणना गर्ने हो भने सगरमाथामा आरोहणको मौसममा ट्राफिक जाम हुने गर्छ । जाम जति बढ्यो, त्यति आरोहीको ज्यान जाने खतरा हुन्छ । जिन्दगीमा कुनै हिमाल नचढेकाहरू समेत एकैपटक सगरमाथा आरोहणको अनुमति लिएर आएका भेटिन्छन् ।
‘चीनले आफ्ना नागरिकलाई कम्तीमा आठ हजार मिटर चढिसकेकालाई मात्र सगरमाथा चढ्ने अनुमति दिन्छ,’ छिरिङजाङबु भन्छन्, ‘नेपाल सरकारले पनि कम्तीमा ६ हजार, ७ हजार हुँदै ८ हजार मिटरको हिमाल चढ्न पाउने व्यवस्था गर्न सके सगरमाथामा ह्वात्तै बढ्ने आरोहीको संख्या व्यवस्थित हुने थियो ।’
आरोही बढेर राजस्व धेरै संकलन हुनु मात्र गर्व गर्ने विषय नभएको उनले बताए । आरोही बढेपछि फोहोर बढ्छ । ट्राफिक जाम भएपछि जोखिम बढ्छ । आधारशिविरमै निकै भीड हुने गरेको छ ।
आधारशिविरमा टेन्ट टाँग्ने बेला कतिपय आरोहण दलका सदस्यले अवैध रूपमा ड्रोन उडाउने, बिनाअनुमति शिखरसम्म विभिन्न किसिमका क्यामेरा र प्रविधि प्रयोग गर्ने गरेका छन् । जसलाई नेपाल सरकारले नियन्त्रण गर्न सक्दैन । आधारशिविरको प्रवेशद्वारमै प्रवेश गर्नेहरूको नामावली व्यवस्थित गर्न सके धेरै व्यवस्थित हुने सरोकारवालाको भनाइ छ ।
सगरमाथामा पहिलेको तुलनामा फोहोर घटे पनि चौथो शिविरआसपास धेरै फोहोर भएको आरोहीको अनुभव छ । भूकम्पका बेला शिविरमा पाल टाँगिसकेपछि भागेका आरोहण दलले छोडेका पाल धेरै थुप्रिएका छन् ।
ती फोहोर आइसमा गाडिएका कारण छुट्टै शेर्पाहरूको टोली आवश्यक औजारसहित पठाउन नसके ल्याउन नसकिने उनीहरू बताउँछन् । एकजना शेर्पाबराबर आठ किलो फोहोर एक सिजनमा ल्याउनुपर्ने नियम राखिएको छ ।
उनीहरूले एक किलोबराबर ६ सय रुपैयाँ पैसा सगरमाथा प्रदूषण नियन्त्रण समितिबाट प्राप्त गर्छन् । त्यो रकम पर्याप्त नभएको शेर्पाहरूको गुनासो छ ।
बर्सेनि सगरमाथा सफाइको नाममा करोडौं रकम खर्च भए पनि उपलब्धिको लेखाजोखा नभएको पर्यटन व्यवसायी बताउँछन् । सफाइका लागि खटिएका शेर्पाहरूको पारिश्रमिक थोरै भएको गुनासो छ । ज्यान जोखिममा राखेर काम गर्ने शेर्पाहरूले दिनको १ हजार २ सयदेखि १ हजार ५ सयसम्म मात्र पाउँछन् ।

प्रकाशित : जेष्ठ ११, २०७६ ०८:१९